नेपालीमा दासत्व - दिल साहनी
यही शिर्षकमा मैले आजभन्दा लगभग तीन दशक अघि एउटा लेख लेखेको थिएँ । त्यो लेख आसामबाट इन्द्र चौलागाईंको सम्पादकत्वमा प्रकाशित हुने विश्व नेपाली समाचार पत्रमा छापिएको थियो । त्यतिबेला प्रदीप नेपाल भारत प्रवासमा अखिल प्रवासी नेपाली संघलाई हेर्ने जिम्मा पाएर गएका थिए । उनले शिलांगमा पुग्दा मेरो विश्व नेपालीमा प्रकाशित लेख हेरेछन् । पछि मसित भेट हुँदा उनले भनेका थिए तपाईंको त्यो लेख मलाई निकै मन पर्यो । उनले मेरो लेखमा व्यक्त विचार मात्र होइन लेख्ने तरिका पनि मन पराएको कुरा गरेका थिए र भनेका थिए यसरी नै लेख्दा राम्रो हुने रहेछ । मेरा लेख मन पराउने प्रसंग कोट्याउँदा यहाँ मैले नेत्र अभागाको पनि नाम उल्लेख गर्न चाहन्छु । उनी त्यतिबेला नेकपा मालेका केन्द्रीय सदस्य थिए । भूमिगत जीवन विताउँदै थिए । रोगी भए पनि आफ्नो जिम्वेवारीमा सकि्रयता पूर्वक लागेका थिए । यिनी लगभग छ महिनासम्म भेटिएनन् । पछि थाहा लाग्यो जंगलको बाटो हुँदै पार्टी सम्पर्कमा जाँदा उनी उतै मृत्युको मुखमा परेछन् । जंगलमा उनको कसरी मृत्यु भयो कसैलाई थाहा भएन । तर उनको झोला घडी र शरीरका केही अवशेष भेटिंदा नेत्र अभागाको मृत्यु भएको कुरा पक्का भयो । ०३९- ४० सालतिर यिनैसित मेरो बुटवलम एकपल्ट र भैरहवामा अर्कोपल्ट शायद जम्मा दुई पल्ट भेट भएको थियो । त्यतिबेला मैले भैरहवाबाट प्रकाशित हुने समाचारपत्र दैनिक निर्णय र समालोचना दैनिकमा लेखहरु लेख्ने गर्दथें । उनले पनि मलाई भेटमा भनेका थिएँ तपाईको लेखन निकै मन पर्याे । जारी राख्नु होला ।
जे होस्, मैले नेपालीमा दासत्व भन्ने लेखमा के कुरा लेखेको थिएँ भने उहिले राणाकालमा भारततिर लागेका नेपालीहरुले राणाशासनकालमा हुर्काइएको चाकरीप्रथालाई आफूसित नै बोकेर भारतमा पनि पुराएका थिए । यसैले उनीहरुले वि्रटिशकालमा अंग्रेजहरुको निकै चाकरी गरे । उनीहरुको दासत्वलाई सहर्ष स्वीकार गरे । भारतीय जनताको स्वतन्त्र संग्रामलाई सहयोग गर्नको सट्टा अंग्रेजहरुको भक्ति भजन गरे ।
यिनै नेपालीहरुले गोराहरुले भारत छोडे पछि कालाहरुको चाकरी गर्न थाले । कालामा पनि कांग्रेसको चाकरी गर्न थाले । यस कारणले पनि कि अंग्रेजको हातबाट सत्ता कांग्रेसको हातमा पुगेको थियो । नेहरुहरुका हातमा सत्ता पुगेको थियो । त्यतिबेला भारतीय नेपालीहरुले भारत स्वतन्त्रताको लडाईमा हाम्रो पनि ठूलो योगदान थियो भनेर कांग्रेसको चाकरी गर्नको लागि त्यतिबेला भारतको कांग्रेस पार्टीमा लागेर गान्धी र नेहरुको नेतृत्वमा अघि बढेका र अंग्रेजले टाउकाको मोल समेत तोकेका आसाम डिगबोईका स्वतन्त्र सेनानी भक्तवहादुर नेवार, आसाम डिग्वोईकै कांग्रेसका मजदुर नेता तथा पूर्व विधान सभा सदस्य दलवीर लोहार एवं आसाम दरंग -अहिले शोणितपुर) का स्वतन्त्र सेनानी छविलाल उपाध्यायहरुका नाम लिएर भन्ने गर्दथे हामी नेपालीहरुको भारतको स्वतन्त्र संग्राममा निकै ठूलो योगदान रहेको छ । भारत सरकारले हाम्रो योगदानको मूल्यांकन गर्नै पर्दछ । यो उनीहरुको चाकरी बजाउने एउटा तरिका थियो । यो नेपालीमा भएको दासताको एउटा रुप थियो । राणाकालीन नेपालबाट कोशेलीको रुपमा प्राप्त गरेको निधि ।
यति भने पछि मैले त्यो लेखमा के पनि लेखेको थिएँ भने भोलि यदि भारतमा कांग्रेसको शासन समाप्त भएर कम्युनिष्टको शासन आयो भने यिनै यतिबेला कम्युनिष्ट शव्द समेत सुन्न नरुचाउने नेपालीहरुले दार्जीलिंगका कम्युनिष्ट नेता रतनलाल व्राह्मण -माइला बाजे) को नाम लिने छन् र भन्ने छन् भारतका कम्युनिज्म ल्याउनमा नेपालीको निकै ठूलो योगदान रहेको छ ।
मैले यहाँ यतिबेला यो कुराको चर्चा गर्न किन परेको हो भने नेपालमा एमालेका माधव कुमार नेपालको नेतृत्वमा के सरकार बन्न थालेको थियो कर्मचारीहरुमा एमालेको चाकरी गर्ने प्रवृतिले १८० डिग्रीको मोड लियो । यस कुराको मैले प्रत्यक्ष अुनभव गरें । चाकरी गर्ने प्रवृतिले यस्तो हुँदो रहेछ ।
कुरा यति मात्र होइन एमालेको नेतृत्वमा सरकार बन्ने पक्का भए पछि त्रिभुवन विश्यविद्यालयले खुसुक्क डा सुरेन्द्र गिरीलाई कामू क्याम्पस चिफबाट हटाएर छापामार शैलीमा एमालेका बफादार कार्यकर्ता वा नेता डा माधव पन्थीलाई क्याम्पस चिफ नियुक्ति गरेछ । विश्वविद्यालयलाई एमाले नै चाहिने हो भने बुटवल बहुमुखी क्याम्पसमा थुप्रै सिनियर एमालेहरु छन् ।
क्याम्पसमा कुनै दल विशेषको चाकरी बजाउने योग्यता राख्नु क्याम्पस चिफको योग्यता हुन सक्दैन । तर पनि यो मुलुक कै दुर्भाग्य भन्नु पर्ने हुन्छ यस मुलुकका नेता तथा पार्टीहरुले राणाकालीन चाकरीतन्त्रलाई कायम राख्न आफ्नो बफादार चाकर हुन सक्ने व्यक्तिलाई नै ठूला ठूला जिम्वेवारी सुम्पिन्छन् । डा माधव पन्थीलाई नाटकीय रुपमा क्याम्पस चिफको पदमा नियुक्ति भए पछि मैले भी सीको अनुहार सम्झें । आखिर भि सी पनि त एमाले हुन् । भी सीका सल्लाहकार राजेन्द्र पौडेललाई सम्झें । उनी पनि खाटी एमाले । उनलाई कुनै दिन भैरहवा क्याम्पसमा अध्यापन गर्दा नेकपा मालेतिर तान्ने आखिर म नै थिएँ । ०४६ साल पछि म त पार्टीको पूर्णकालीन कार्यकर्ता भएं भनेर झोला बोकी सुदूर पश्चिमतिर पार्टी कार्य गर्न हिंडेका माधव पन्थी यतिबेला बुटवल क्याम्पसका क्याम्ापस चिफ बनेका छन् । विश्व विद्यालयले यो क्याम्पसमा कसलाई क्याम्पस चिफ बनाउन पर्दछ सल्लाह सुझाव माग्दैन । शायद यसको निर्णय बल्खु दरवारबाट हुन्छ ।मलाई यतिबेला लागिरहेको छ यो देश तीन जना माधवको कव्जामा छ । सरकार एउटा माधवको कव्जामा छ । विश्वविद्यालय अर्को माधवको कव्जामा छ । क्याम्पस अर्का माधवहरुको कब्जामा । अनि हामो यात्रा पुरानो नेपालबाट नयाँ नेपालतिर होइन नयाँ नेपालबाट पुरानो नेपालतिर फर्किरहेको छ ।
यति भने पछि म फेरि कर्मचारीतन्त्रमा आउन चाहन्छु । रुसमा विश्व विख्यात कथाकार चेखभले कर्मचारीमा छेपाराले जस्तै रंग फेर्ने बानी भएको कुरा बडो मार्मिक ढंगले चित्रित गरेका छन् । हाम्रो देशका कर्मचारी पनि त्यस्तै त्यस्तै रहेछन् जस्तो लाग्यो । हिजो माओवादीको चाकरी गर्न तम्सिएका कर्मचारी आज फेरि एमालेको चाकरी गर्न दाम्लो छिनालेर लागेका छन् । यस्तै कुरा मेलै हिजो राजाको प्रतिगमनको बेलामा पनि अनुभूति गरेको थिएँ । उनीहरु बहुदलकालमा बाटो घाटो चौरस्ता जहाँ पनि चर्काचर्का कुरा गर्न सक्दथे । कुरा गर्दथे । तर प्रतिगमन आउना साथ उनीहरुका मुख बन्द भए । उनीहरु खुरु खुरु पंचायतकालीन कर्मचारी भएर काम गर्न थाले । अझ राणाकालीन कर्मचारी जस्तो भएर काम गर्न थाले ।
लोकतन्त्रमा कर्मचारी कटबाल जस्तै सरकारलाई नटेर्ने पनि हुनु हुँदैन र राणाकाल वा शाहकालमा जस्तो कुनै दल विशेषको दासनुदास पनि बन्न हुँदैन । सरकार फेरिने वित्तिकै छेपारोले जस्तै रंग फेर्न पनि हुँदैन । शायद आफूलाई निकै असुरक्षित सम्झेर पनि होला कर्मचारीले छेपारोले जस्तै रंग फेर्छन होला । लोकतन्त्रमा पनि कर्मचारी चाकरीतन्त्रका अनुयायी बन्छन् भने त्यो के को लोकतन्त्र ?
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete